राहदानी विभाग अगाडिको घटनामा घाइते राइडर गणेश नेपालीलाई उपचारका लागि भारत पठाइने



काठमाडौं,असार २६ — त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर रूपमा जलेका राइडर गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। उनको थप तथा विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

हाल वीर अस्पतालमा उपचाररत नेपालीको स्वास्थ्य अवस्था बुझ्न तथा उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू अस्पताल पुगेका थिए।

चिकित्सकसँगको परामर्श र बिरामीको गम्भीर अवस्थालाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङले गणेश नेपालीलाई तत्काल भारत पठाउन आवश्यक सबै प्राविधिक र व्यवस्थापकीय तयारी छिटो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहको पहलमा गणेश नेपालीलाई थप उपचारका लागि भारत पठाउने सम्पूर्ण प्रक्रिया अघि बढाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्