प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्ने
काठमाडौँ,असार २६ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त तथा दुई आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
समितिका अध्यक्ष बोधनारायण श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा प्रस्तावित डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
बैठकले प्रस्तावित पदाधिकारीविरुद्ध उजुरी आह्वान गर्न शुक्रबार सार्वजनिक सूचना जारी गर्ने निर्णय पनि गरेको छ। समितिले प्राप्त उजुरीमाथि छलफल तथा सुनुवाइ प्रक्रिया अघि बढाउन आगामी साउन ५ गते अर्को बैठक बस्ने जनाएको छ।
यसअघि प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

