भारतीय पर्यटकको रोजाइ बन्दै नेपाल
काठमाडौँ, असार २६ — पछिल्ला वर्षहरूमा भारतीय पर्यटकको नेपाल आगमन उल्लेखनीय रूपमा बढेको छ। खुला सीमा, धार्मिक–सांस्कृतिक समानता, प्राकृतिक सौन्दर्य र सहज यात्राका कारण भारतबाट नेपाल आउने पर्यटकको संख्या निरन्तर बढिरहेको पर्यटन व्यवसायीहरूको भनाइ छ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को पहिलो छ महिनामा नेपाल आएका पाँच लाख २९ हजार ९० विदेशी पर्यटकमध्ये एक लाख ८२ हजार ८८४ जना भारतीय रहेका छन्। भारतीय पर्यटक धार्मिक यात्रासँगै पदयात्रा, साहसिक पर्यटन, पारिवारिक भ्रमण र मनोरञ्जनका लागि पनि नेपाल आउन थालेका छन्।
पोखरा, काठमाडौँ, लुम्बिनी, मुक्तिनाथ र जनकपुरलगायतका प्रमुख गन्तव्यमा भारतीय पर्यटकको चहलपहल बढ्दा होटल, रेस्टुराँ तथा पर्यटन व्यवसायमा सकारात्मक प्रभाव परेको छ। सामाजिक सञ्जालमा भारतीय कन्टेन्ट क्रिएटरहरूले नेपालका पर्यटकीय गन्तव्य प्रवर्द्धन गरेकाले पनि पर्यटक आकर्षित भएको पर्यटन बोर्डको भनाइ छ।

