सिन्धुपाल्चोकसहित ११ जिल्लाका साना नदीमा आज बाढीको जोखिम, सतर्क रहन आग्रह



काठमाडौँ,असार २६ । बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ११ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले शुक्रबार बिहान जारी गरेको सूचनाअनुसार इलाम, झापा, सोलुखुम्बु, धनकुटा, तेह्रथुम, ओखलढुंगा, खोटाङ, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक तथा आसपासका क्षेत्रबाट बग्ने साना नदी र खोलामा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना रहेको छ।

लगातारको वर्षाका कारण ती क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै, नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्