साउनदेखि तीन महिने डेङ्गी सचेतना अभियान सञ्चालन गरिने
काठमाडौँ,असार २६ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने समयलाई लक्षित गर्दै साउनदेखि असोजसम्म तीन महिने ‘डेङ्गी सचेतना’ अभियान सञ्चालन गर्ने भएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार साउन, भदौ र असोज महिनामा डेङ्गीको सङ्क्रमण बढ्ने सम्भावना रहने भएकाले आमनागरिकलाई सचेत बनाउन अभियान सञ्चालन गर्न लागिएको हो।
उहाँले वर्षायाममा पानी जम्ने स्थानमा डेङ्गी सार्ने लामखुट्टे बढ्ने भएकाले त्यस्ता स्थानको नियमित सरसफाइ, लार्भा खोजी तथा नष्ट गर्ने अभियानलाई प्राथमिकता दिइने बताउनुभयो। अभियानका क्रममा टोल–टोल र विद्यालयसम्म पुगेर डेङ्गीको रोकथाम तथा नियन्त्रणबारे जनचेतना फैलाइने पनि उहाँले जानकारी दिनुभयो।
महाशाखाका अनुसार यस वर्ष जनवरीदेखि हालसम्म देशभर एक हजार २४४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ। मन्त्रालयले घर वरपर पानी जम्न नदिन, लामखुट्टेको बासस्थान नष्ट गर्न र डेङ्गीका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैलाई आग्रह गरेको छ।

