तीन दिन देशभर वर्षाको सम्भावना, केही स्थानमा मुसलधारे पानी पर्ने चेतावनी
काठमाडौँ,असार २६। मौसम पूर्वानुमान महाशाखाले आज, भोलि र पर्सिसम्म देशभर वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार केही स्थानमा मुसलधारेदेखि आरीघोप्टे वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशको तराईसहित देशका पहाडी भूभागका एक–दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना छ।रातिको समयमा मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका केही स्थान, साथै कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका एक–दुई स्थानमा मुसलधारेदेखि आरीघोप्टे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले भोलि र पर्सि पनि देशका विभिन्न स्थानमा यस्तै प्रकृतिको वर्षा हुने सम्भावना रहेकाले नदी तथा खोलानालाको आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुन सक्ने स्थानमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


