राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु



काठमाडौँ, असार २६ — त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ।

वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११ः१९ बजे निधन भएको उपचारमा संलग्न प्लास्टिक तथा बर्न सर्जन डा. पियुष दाहालले जानकारी दिनुभयो।

डा. दाहालका अनुसार नेपालीको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको थियो। अस्पताल ल्याइएकै समयदेखि उहाँको अवस्था अत्यन्त गम्भीर रहेको र चिकित्सक टोलीले निरन्तर उपचार गरे पनि बचाउन नसकिएको उहाँले बताउनुभयो।

घटनापछि बिहीबार दिउँसो २ः१५ बजे नेपालीलाई वीर अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा भर्ना गरेलगत्तै उहाँलाई शीतल उपचार (कुलिङ) दिइएको र त्यसपछि श्वासप्रश्वास सहज बनाउन आवश्यक उपचार सुरु गरिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्