जङ्गलमा बेवारिसे भरुवा बन्दुक फेला, अनुसन्धान सुरु



मकवानपुर, असार २६ — पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती गाउँपालिका–३ ठुलो देउजोरस्थित सूर्यकिरण सामुदायिक वनको जङ्गलमा शुक्रबार दिउँसो उक्त बन्दुक फेला परेको हो।

बेवारिसे बन्दुक फेला परेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली घटनास्थलमा पुगेर बन्दुक नियन्त्रणमा लिएको थियो। हाल उक्त भरुवा बन्दुक इलाका प्रहरी कार्यालय फापरबारीमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी माधवप्रसाद काफ्लेका अनुसार फेला परेको एकनाले भरुवा बन्दुक चल्ने अवस्थामा रहेको जस्तो देखिए पनि त्यसमा बारुद भने भेटिएको छैन।

प्रहरीले बन्दुक कसले, कहिले र किन जङ्गलमा छाडेको भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्