सर्लाहीमा एक जनाद्वारा आत्मदाहको प्रयास, कीर्तिपुर बर्न अस्पताल ल्याइँदै
सर्लाही,असार २६ — सर्लाहीको गोडैता नगरपालिकामा एक जनाले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्।
गोडैता नगरपालिका–१० का ४२ वर्षीय विवेक मण्डलले शुक्रबार दिउँसो करिब २:३० बजे आफ्नै घरबाट करिब २०० मिटर पूर्वतर्फ शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो।
घटनालगत्तै स्थानीयवासी र प्रहरीको सहयोगमा उहाँको उद्धार गरी मलंगवा अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार परिवारका सदस्यले मण्डललाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

