गणेश नेपालीको निधनप्रति महानगरको दुःख व्यक्त, परिवारलाई सहयोग र रोजगारीको प्रतिबद्धता



काठमाडौँ, असार २७— काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

महानगरका प्रवक्ता नविन मानन्धरले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनाले महानगर परिवारलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ। मुगु घर भई हाल भक्तपुर बस्दै आएका गणेश नेपालीले असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा शुक्रबार उहाँको निधन भएको हो।

महानगरले घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकार, गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तै, महानगरले गणेश नेपालीको परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने जनाएको छ। परिवारका एक सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा उहाँका सन्ततिलाई निःशुल्क शिक्षा दिने विषयमा कार्यपालिकाको आगामी बैठकबाट विधिसम्मत निर्णय गरिने प्रवक्ता मानन्धरले जानकारी दिनुभएको छ।

महानगरपालिकाले भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन नेपाल सरकारसँग समन्वय र सहकार्य गर्दै आवश्यक समाधानका उपाय पहिचान गर्ने तथा प्रभावकारी अभ्यास विकास गरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्