नयाँ प्रणालीबाट विद्युतीय राहदानी सेवा सुरु हुने
काठमाडौँ, असार २७— सरकारले राहदानी सेवालाई थप प्रभावकारी बनाउन असार २९ गतेदेखि नयाँ प्रणालीबाट विद्युतीय राहदानीको अनलाइन इनरोलमेन्ट सुरु गर्ने भएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार पुरानो प्रणालीलाई नयाँमा रूपान्तरण गर्ने क्रममा बुधबारदेखि सोमबारसम्म राहदानी विभागका अनलाइन सेवाहरू स्थगित गरिएको छ। प्रारम्भिक चरणमा केही प्राविधिक समस्या आउन सक्ने भए पनि सेवा क्रमशः सहज बनाइने मन्त्रालयको भनाइ छ।
सरकारले राहदानी ऐन संशोधन गरी सेवा थप नागरिकमैत्री बनाउने तयारी पनि गरिरहेको छ। साथै, भविष्यमा नागरिकले आफू जहाँ भए पनि त्यहीँबाट राहदानी प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ।
यसैबीच, दक्षिणपूर्वी एसियामा अनलाइन ठगीमा परेका ८३६ नेपालीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा मन्त्रालयले उपचारका क्रममा निधन भएका गणेश नेपालीप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली पनि अर्पण गरेको छ।

