बाढीले होल्डिङ सेन्टर डुबायो, ५४ जनाको उद्धार
काठमाडौँ, असार २७ । अविरल वर्षाका कारण कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। बागमती नदीको बहाव बढेपछि राति होल्डिङ सेन्टरमा पानी पसेर त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू समस्यामा परेका हुन्।
राति करिब १ः३८ बजे दङ्गा नियन्त्रण रेजिमेन्टबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा विपद् व्यवस्थापन सामग्रीसहित ३० जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका ३० जनाको संयुक्त टोली घटनास्थलमा खटिएको थियो।
होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको सुरक्षित उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सारिएको छ। थप ६ जना नजिकैको छात्रावासमा बसेका छन् भने ९४ जनाले अन्यत्र जान नमानी होल्डिङ सेन्टरकै पानी नपुगेको स्थानमा बसेका छन्।
घटनापछि सम्बन्धित विषयगत समूह (क्लस्टर) सक्रिय भई प्रभावितहरूका लागि खाना, पिउने पानी तथा अन्य आवश्यक राहत सामग्रीको व्यवस्थापन गरिरहेको जनाइएको छ। सुरक्षाकर्मीले जोखिम क्षेत्रको निगरानी जारी राखेका छन्।

