आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह



काठमाडौँ, असार २७ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार दिउँसो र राति दुवै समयमा केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

रातिको समयमा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कोशी प्रदेशका पहाडी क्षेत्र र गण्डकी तथा लुम्बिनीका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

देशभर आज सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान, तराईका केही स्थान तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको पनि अनुमान गरिएको छ।

हाल देशभर मनसुनी वायु सक्रिय रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेकाले वर्षा जारी रहने विभागले जनाएको छ। विभागले भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, डुबान तथा नदी–नालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्