काठमाडौंको बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, उपचार जारी
काठमाडौं, असार २७ — काठमाडौंको बुद्धनगरमा ४५ वर्षीय एक पुरुषले शनिबार बिहान आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार बिहान करिब ६:१५ बजे आश्विन राउतले आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएका हुन्।
घटनालगत्तै प्रहरीले उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको छ। चिकित्सकका अनुसार राउतको शरीर करिब ५० प्रतिशत जलेको प्रहरीले जनाएको छ।
राउत बुद्धनगरमा श्रीमती र छोरासहित बस्दै आएका थिए। घटनाका बेला भने श्रीमती र छोरा घरमा नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार आत्मदाहको प्रयासको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

