नुवाकोटको प्रसिद्ध मालिकाकोटमा फाल्चा निर्माण



नुवाकोट, असार २७ । नुवाकोटको विदुर नगरपालिकाले धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै विभिन्न संरचना निर्माण तथा संरक्षणका कामलाई तीव्रता दिएको छ।

यसअन्तर्गत विदुर नगरपालिका–२ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मालिकाकोटको मालिका थान (मन्दिर) परिसरमा फाल्चा निर्माण सम्पन्न भएको छ। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै ऐतिहासिक मौलिकता जोगाउने उद्देश्यले निर्माण गरिएको फाल्चाका लागि नगरपालिकाले १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो भने स्थानीयवासीले तीन लाख रुपैयाँभन्दा बढी बराबरको श्रमदान गरेका छन्।

नवनिर्मित फाल्चाको नगर प्रमुख राजन श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष दीपक कायस्थ, जनप्रतिनिधि तथा प्राविधिकहरूको टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ।

नगर प्रमुख श्रेष्ठको परिकल्पनाअनुसार आगामी आर्थिक वर्षमा मालिकाकोटदेखि कालिकाथानसम्म पदमार्ग (सिँढी) निर्माणका लागि आवश्यक बजेटसमेत विनियोजन गरिएको नगरपालिकाले जनाएको छ। मालिकाकोटबाट नुवाकोटका अधिकांश भूभागको मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले यस क्षेत्रलाई धार्मिकसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

यसैबीच, विदुर नगरपालिका–५ पिपलटारस्थित माझडाँडामा रहेको ऐतिहासिक कुवा तथा धारोको संरक्षण कार्य पनि सम्पन्न भएको छ। पाँच लाख रुपैयाँको लागतमा सम्पन्न संरक्षण कार्यपछि स्थानीयवासी तथा पैदलयात्रीलाई स्वच्छ पिउनेपानीको सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष रामेश्वर गजुरेलले जानकारी दिए।

नगरपालिकाले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमार्फत स्थानीय पर्यटन विकास र जनसुविधा विस्तारलाई निरन्तर अघि बढाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्