आफ्नै पुरानो कविताको सम्झनासहित सञ्चारमन्त्री तिमिल्सिनाको नयाँ कविता चर्चामा



काठमाडौं,असार २८ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको नयाँ भावुक कविता यतिबेला व्यापक चर्चामा आएको छ। तीन वर्षअघि प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको समयमा उहाँले लेखेको एउटा कविता सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो।

पछिल्लो आत्मदाह घटना क्र्मलाई स्मरण गराउँदै यसपटक सार्वजनिक गरिएको कविताले पनि धेरैको ध्यान तानेको छ। मन्त्री तिमिल्सिनाले आफ्नो पुरानो कविताको हरफ “उनको शरीरमा फैलिएको आगोको एक लप्का, तिम्रो दिमागमा पनि लगाऊ, र निभाऊ सम्भावित आगोका लप्काहरू” सम्झँदै अहिले आफू प्रश्न गर्ने अवस्थाबाट जवाफ दिनुपर्ने जिम्मेवारीमा पुगेको अनुभूति व्यक्त गर्नुभएको छ।

कवितामा उहाँले अहिले आफ्नै मनमा “एक होइन, असंख्य आगोका लप्का” सल्किएको उल्लेख गर्दै समाजमा देखिन सक्ने सम्भावित सङ्कट कसरी रोक्ने भन्ने विषयमा गम्भीर चिन्तन गरिरहेको भाव व्यक्त गर्नुभएको हो। विगतमा प्रश्न उठाउने भूमिकामा रहे पनि अहिले उत्तरदायित्वको स्थानमा पुगेपछि शब्दभन्दा कर्मबाट जवाफ दिनुपर्ने समय आएको उहाँको भनाइ कवितामार्फत प्रकट भएको छ।

कवितामा विगतमा समयमै समस्याको समाधान नगर्दा आज जवाफदेही बन्नुपरेको सन्देश दिइएको छ। अन्त्यमा मन्त्री तिमिल्सिनाले सेवकको भूमिकामा रहेर समाजमा देखिन सक्ने सबै सम्भावित “आगोका लप्का” निभाउन दिनरात लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।

त्यस ताका भाइरल बनेको कवितापछि सार्वजनिक भएको यो नयाँ रचनालाई धेरैले वर्तमान जिम्मेवारी, उत्तरदायित्व र सुशासनप्रतिको आत्मसमीक्षाका रूपमा व्याख्या गर्दै सामाजिक सञ्जालमा व्यापक रूपमा साझा गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्