पशुपतिका १८ हजार रोपनी जग्गामध्ये सयौँ रोपनी भूमाफियाको कब्जामा
काठमाडौँ, असार २८ । पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेका १८ हजार ३८२ रोपनीभन्दा बढी जग्गामध्ये सयौँ रोपनी भूमाफियाको कब्जामा रहेको तथा केही जग्गा अलपत्र अवस्थामा रहेको अध्ययन प्रतिवेदनले देखाएको छ।
पशुपतिनाथको सम्पत्ति तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिले चाबहिल, बालाजु, गोलढुङ्गा, सिन्धुपाल्चोकलगायतका क्षेत्रमा रहेका जग्गा तत्काल कानुनी प्रक्रियामार्फत कोषमातहत ल्याउन सिफारिस गरेको छ।
प्रतिवेदनअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गल्फ कोर्सले ९९ वर्षका लागि सम्झौतामार्फत १,१६१ रोपनीभन्दा बढी जग्गा भोगचलन गरिरहेका छन् भने तारागाउँ रिजेन्सी होटलले १७ रोपनी जग्गा प्रयोग गरिरहेको उल्लेख छ।
समितिका संयोजक तथा कोषका पूर्वसदस्यसचिव डा. मिलनकुमार थापाले राजनीतिक दबाब र भूमाफियाको प्रभावका कारण पशुपतिका धेरै जग्गा संरक्षण गर्न नसकिएको बताउँदै विगतमा जग्गा अधिग्रहण र सट्टाभर्नामा समेत अनियमितता भएको दाबी गर्नुभएको छ।
कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले प्रतिवेदनबारे अध्ययन र आवश्यक छलफलपछि थप निर्णय गरिने बताउनुभएको छ।

