नुवाकोटको समुन्द्रटारमा पहिरो, सातविसे–समुन्द्रटार सडक गएरातिदेखि अवरुद्ध



नुवाकोट, असार २८ । गएराति परेको अविरल वर्षापछि आएको ठूलो पहिरोका कारण सातविसे–समुन्द्रटार सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

समुन्द्रटार झोलुङ्गे पुल पारिको क्षेत्रमा पहिरोसँगै ठूलो ढुङ्गा सडकमा खसेपछि आवतजावत ठप्प भएको हो। सडक अवरुद्ध हुँदा दुप्चेश्वर गाउँपालिका–६ हुँदै दुप्चेश्वर मन्दिर जाने तीर्थयात्री तथा स्थानीयवासी समस्यामा परेका छन्।

दुप्चेश्वर गाउँपालिका–२ का वडाध्यक्ष बिरबल तामाङका अनुसार सडक अवरुद्ध भएको करिब ९ घण्टा बितिसकेको छगाउँपालिकाको डोजर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए।

उनका अनुसार सडकमा खसेको ठूलो ढुङ्गा फुटाउन ब्रेकर प्रयोग गर्नुपर्ने अवस्था आएमा बिहान १० बजेसम्म सडक सञ्चालनमा आउन सक्छ।यदि ब्रेकरको आवश्यकता नपरेमा करिब एक घण्टामै सडक खुलाउन सकिने उनले बताए।

लगातारको वर्षासँगै पहिरोको जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्