दुई दिन भारीदेखि अति भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्ने



काठमाडौं, असार २८ — देशभर मनसुन सक्रिय रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि तथा पूर्वतर्फ नेपालको तराई नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आइतबार दिउँसो अधिकांश स्थानमा बदली रहने तथा हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान पनि गरिएको छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

आज रातिदेखि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको गतिविधि अझ बढ्ने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा मधेशसहित ती प्रदेशका तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने र पहाडी भूभागका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार र सोमबार विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा मधेशसहितका तराई भूभागमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहने चेतावनी दिएको छ।

प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्