जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी पक्राउ
दाङ, असार २८। जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका २५ वर्ष कैद सजाय तोकिएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१३ बनगाउँ निवासी ३३ वर्षीय गोरे भन्ने गोविन्द विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो।
विकलाई दाङ जिल्ला अदालतले २०७८ जेठ २८ गते २५ वर्ष कैद सजाय सुनाएको थियो। सजाय भुक्तानका क्रममा तुलसीपुर कारागारमा रहेका उनी २०८२ भदौ २४ गते जेन–जी आन्दोलनका बेला कारागारबाट फरार भएका थिए।
फरार अभियुक्तको खोजीका क्रममा प्रहरीले असार २७ गते राति घोराही–१३ बनगाउँस्थित लुकिछिपी बसेको अवस्थामा विकलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका विकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार पठाउने तयारी गरिएको छ।

