मुहानमै पानीको अभाव : मेलम्चीको पानी राजधानी पुग्छ, सुन्दरीजलका बासिन्दा तिर्खैमा



काठमाडौँ, असार २८ ।  राजधानीभरि वितरण हुने मेलम्चीको खानेपानी प्रशोधन हुने सुन्दरीजल आसपासका बासिन्दा भने वर्षौंदेखि नियमित खानेपानीबाट वञ्चित रहँदै आएका छन्। आफ्नै क्षेत्रबाट राजधानीमा पानी पुगे पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीका स्थानीयले अझै ढुङ्गेधारा, कुवा र सार्वजनिक धाराको भर पर्नुपर्ने बाध्यता छ।

मुहान क्षेत्रका बासिन्दाले लामो समयदेखि समस्या समाधानको माग गर्दै आए पनि प्रभावकारी पहल हुन नसकेको गुनासो गरेका छन्। यही विषय संसद्को खानेपानी तथा पूर्वाधारसँग सम्बन्धित समितिमा समेत उठेको थियो। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर क्षेत्रमा खानेपानीको समस्या समाधान नभए मेलम्चीको पानी राजधानीमा आपूर्ति हुन नदिने चेतावनीसमेत दिनुभएको थियो। शनिबार उहाँले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रतिनिधिसँग छलफल गर्दै स्थानीय समस्या समाधानका लागि आवश्यक पहल गर्न निर्देशन दिनुभयो।

मेलम्ची आयोजनाअन्तर्गत सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट २७.५ किलोमिटर सुरुङमार्फत ल्याइएको पानी सुन्दरीजलमा प्रशोधन गरी राजधानीका विभिन्न क्षेत्रमा वितरण गरिन्छ। बाग्मती नदीको पानी पनि यही केन्द्रबाट प्रशोधन गरी उपत्यकामा पठाइन्छ। तर, स्रोतस्थल आसपासका बासिन्दा भने अझै नियमित खानेपानी सेवाबाट वञ्चित छन्।

कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासकी सावित्री सापकोटाका अनुसार १० लिटर पानी भर्नका लागि करिब आधा घण्टा पैदल हिँडेर सार्वजनिक धारासम्म पुग्नुपर्छ भने पालो पर्खिन मात्रै दुई घण्टासम्म समय खर्चिनुपर्ने अवस्था छ। स्थानीय केशवप्रसाद पुडासैनीले विभिन्न खानेपानी आयोजना सम्पन्न भएको दाबी गरिए पनि दिगो व्यवस्थापनको अभावमा संविधानले सुनिश्चित गरेको स्वच्छ खानेपानीको अधिकारबाट स्थानीय वञ्चित हुनुपरेको बताउनुभयो।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगरपालिकाले आफ्नै बजेटबाट पाइप बिछ्याएर केयुकेएललाई हस्तान्तरण गरे पनि अपेक्षित रूपमा पानी वितरण हुन नसकेको स्वीकार गर्नुभयो। स्थानीय प्रेम श्रेष्ठले सुन्दरीजलस्थित पुरानो बाग्मती पानी प्रशोधन केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीय क्षेत्रमा शुद्ध पानी वितरण प्रभावित भएको भन्दै तत्काल मर्मत गरी नियमित सेवा सञ्चालन गर्न माग गर्नुभयो।

केयुकेएलका प्रबन्ध निर्देशक रामरतन साहले सुन्दरीजल क्षेत्रको समस्या पुरानो वितरण प्रणालीका कारण भएको बताउनुभयो। पञ्चायतकालमा निर्माण गरिएको पाइपलाइन अहिलेको जनघनत्व धान्न नसक्ने अवस्थामा पुगेकाले नयाँ वितरण प्रणाली निर्माण गर्ने विषयमा सांसदसँग सहमति भएको उहाँले जानकारी दिनुभयो।

यता, सुन्दरीजलको बाग्मतीतर्फको पुरानो प्रशोधन केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बौद्ध क्षेत्रसम्म पुग्ने पानी धमिलो हुने गरेको स्थानीय नोर्साङ शेर्पाले गुनासो गर्नुभयो। उहाँका अनुसार यस्तो पानी प्रयोग गर्दा कपडा राम्रोसँग सफा नहुने, नुहाएपछि शरीर चिलाउनेजस्ता समस्या देखिने गरेका छन्। नागरिक समाजले एक दशकदेखि यो विषय उठाउँदै आए पनि सम्बन्धित निकायबाट प्रभावकारी सुनुवाइ हुन नसकेको स्थानीयको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्