विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोज्दा दुर्गा प्रसाईँलाई प्रहरीले रोकेर घर पुर्यायो
काठमाडौँ, असार २८। व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्न नदिई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको निवाससम्म पुर्याएको छ।
झापाबाट आइतबार दिउँसो काठमाडौं आएका प्रसाईँले विमानस्थल परिसरमै पोस्टर राखेर पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हस्तक्षेप गर्दै कार्यक्रम रोकाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार विमानस्थल संवेदनशील तथा निषेधित क्षेत्र भएकाले त्यहाँ कुनै कार्यक्रम गर्न अनुमति छैन। त्यसैले प्रसाईँलाई सम्झाइबुझाइ गरी सहजीकरण गर्दै घरसम्म पुर्याइएको उनले बताए।
प्रहरीका अनुसार निषेधित क्षेत्रमा सार्वजनिक कार्यक्रम गर्न खोजेपछि प्रसाईँलाई नियन्त्रणमा लिइएको थियो। उनलाई पछि भक्तपुरस्थित निवासमा सुरक्षित रूपमा पुर्याइएको प्रहरीले जनाएको छ।

