राप्ती नदीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी



बाँके,असार २८ । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ।

सशस्त्र प्रहरीका अनुसार डुडुवा गाउँपालिका–५ का ९ वर्षीय सुलभ रावत र ११ वर्षीया खुशी सिजापति शनिबार साँझ राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। प्रारम्भिक जानकारीअनुसार सुलभ डुब्न थालेपछि उनलाई बचाउन गएकी खुशी पनि नदीको भेलमा बगेकी थिइन्।

दुवै बालबालिका शनिबार साँझ घरबाट निस्किएका थिए। उनीहरू डुबेको घटनाबारे एक भैँसी गोठालाले राति करिब ८ बजे परिवारलाई जानकारी दिएका थिए। त्यसपछि परिवार र स्थानीयले राति १० बजे सशस्त्र प्रहरीको अस्थायी मनसुन सुरक्षा बेस कुण्डा फत्तेपुरलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी नायब निरीक्षक चित्रबहादुर पुनको कमाण्डमा ११ सदस्यीय विपद् व्यवस्थापन टोली मोटर बोटसहित घटनास्थल पुगेको थियो। टोलीले शनिबार रातिदेखि आइतबार बिहानसम्म नेपाल प्रहरी, स्थानीयवासी र पीडित परिवारसँग समन्वय गरी खोजी अभियान सञ्चालन गरेको थियो।

आइतबार बिहान पुनः खोजी सुरु गरिएपछि बिहान ७ः५० बजे ९ वर्षीय सुलभ रावतको शव डुबेको स्थानबाट करिब ५ सय मिटर तल तथा सिधनियाघाटस्थित राप्ती नदी पुलबाट करिब १ किलोमिटर उत्तरतर्फ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

फेला परेको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई बुझाइएको छ। ११ वर्षीया खुशी सिजापतिको खोजी भने सशस्त्र प्रहरीको टोलीले निरन्तर जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्