राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीका परिवारसँग नौबुँदे सहमति
काठमाडौं,असार २८ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुको सोरु गाउँपालिका–१ जवलधाराका २५ वर्षीय गणेश नेपालीका परिवारसँग काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौंले नौबुँदे सहमति गरेका छन्।
आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल तथा पीडित परिवार र वार्ता समितिबीच भएको सहमतिअनुसार मृतककी श्रीमती एकमाया नेपालीलाई योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिने भएको छ।
यस्तै, मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने गरी आवश्यक व्यवस्था मिलाइने सहमतिमा उल्लेख छ। सहमतिअनुसार मृतकको अन्त्येष्टिका लागि आवश्यक सम्पूर्ण व्यवस्था तथा काठमाडौंमा गरिने काजक्रियाको व्यवस्थापन पनि महानगरपालिकाले गर्नेछ।
त्यसैगरी, पीडित परिवार तथा आफन्तजनले मृतकको शव बुझ्ने, शव परीक्षणलगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने र सद्गतको कार्य सहजीकरण गर्ने सहमति भएको छ। गणेश नेपालीले असार २६ गते त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालको जलन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको थियो।

