मनसुन प्रतिकार्य तयारी प्रभावकारी बनाउन गृह मन्त्रालयको सक्रियता, सरोकारवालासँग समीक्षा छलफल



काठमाडौं, असार २८ — गृह मन्त्रालयले मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायसँग समीक्षा तथा समन्वयात्मक छलफल गरेको छ।

गृहमन्त्री सुधन गुरुङले असार ४ गते दिएको निर्देशनको कार्यान्वयन अवस्थाबारे गृह सचिव राजकुमार श्रेष्ठको उपस्थितिमा आयोजित छलफलमा हालसम्मको मनसुन अवस्था, प्रतिकार्यबाट प्राप्त अनुभव तथा आगामी तयारीका विषयमा विस्तृत समीक्षा गरिएको हो।

गृहमन्त्री गुरुङले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानलाई चौबिसै घण्टा निगरानीमा राख्ने, जोखिम देखिनेबित्तिकै सम्बन्धित निकायमा तत्काल सूचना प्रवाह गर्ने तथा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना–२०८३ का सबै विवरणलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्न निर्देशन दिनुभएको थियो।

त्यस्तै, खोज तथा उद्धार र राहत सामग्रीको अद्यावधिक विवरण संकलन गर्ने, आवश्यक स्रोत–साधनको नक्साङ्कन तथा निगरानी प्रणाली सञ्चालन गर्ने, आवश्यकता पर्दा तत्काल परिचालन गर्न सकिने व्यवस्था मिलाउने र संयुक्त अभ्यास तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि जोड दिइएको थियो।

छलफलका क्रममा गृह सचिव श्रेष्ठले विपद् प्रभावितको उद्धार र राहत व्यवस्थापन गर्दा न्यूनतम आधारभूत सुविधाको सुनिश्चिततामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

बैठकमा विपद् व्यवस्थापनसँग सम्बन्धित संघीय मन्त्रालय तथा निकायका प्रतिनिधि, विपद् सम्पर्क अधिकारी, सुरक्षा निकायका वरिष्ठ अधिकारी तथा विषयगत सहयोगी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्