रोपाइँ हाइकिङमा रमाए प्रकृतिप्रेमी, नुवाकोटको खोलेगाउँमा कृषि र प्रकृतिसँग साक्षात्कार
नुवाकोट, असार २८ । निरोगी नेपाल निर्माण अभियानमा सक्रिय संस्था प्रकृतिप्रेमी समूह ले आफ्ना सदस्यहरूलाई नुवाकोटको खोलेगाउँमा शनिबार ‘रोपाइँ हाइकिङ’ गराउँदै प्रकृति, कृषि र स्वास्थ्यलाई जोड्ने अभियान सञ्चालन गरेको छ।
हाइकिङका सहभागीहरूले मानेडाँडाबाट समुन्द्रादेवी मन्दिर हुँदै चिलाउने गाउँको झरनासम्म पदयात्रा गरेका थिए। हरियाली गाउँबस्ती र प्राकृतिक सौन्दर्यको अवलोकनपछि उनीहरू खोलेगाउँस्थित शिवपुरी होमस्टे पुगेका थिए।
शिवपुरी गाउँपालिका वडा नम्बर -६ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले सञ्चालन गर्दै आएको होमस्टेमा सहभागीहरूलाई उसिनेको मकै र साँधेको आलु खुवाइएपछि उनीहरू खेतमा पुगेर हिलोमा धान रोपाइँमा सहभागी भएका थिए। माटोसँग प्रत्यक्ष सम्पर्कमा रहँदै रोपाइँ गर्दा सहभागीहरूले ग्रामीण जीवन, कृषि संस्कृति र प्रकृतिसँगको निकटताको अनुभव गरेका थिए।
संस्थाकी सचिव तथा हाइकिङ टोलीकी नेतृत्वकर्ता रामदेवी महर्जनले रोपाइँ हाइकिङले माटोप्रति प्रेम, किसानप्रति सम्मान र कृषि कर्मको महत्व बुझाउन सहयोग पुग्ने बताइन्।
रोपाइँपछि टोलीले खोंचमा रहेको लप्से झरनाको अवलोकन गर्दै तस्बिर तथा भिडियो निर्माण गरेको थियो। त्यसपछि पुनः शिवपुरी होमस्टे फर्किएका सहभागीहरूलाई भात, फर्सीको मुन्टा, आलु–तामाको तरकारी, अचार र फलफूलसहितको स्थानीय परिकार खुवाइएको थियो।
प्रकृतिप्रेमी समूहले आफ्ना सबै पदयात्रामा स्वास्थ्यवर्धक स्थानीय खानालाई प्राथमिकता दिँदै जंकफुड, फास्टफुड र मदिरा पूर्ण रूपमा निषेध गर्ने नीति अपनाउँदै आएको जनाएको छ।
पदयात्राका क्रममा वडाध्यक्ष श्रेष्ठले पथप्रदर्शकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रम सम्पन्न भएपछि सहभागीहरू खोलेगाउँबाट सवारीमार्फत काठमाडौं फर्किएका थिए।

