मनसुनजन्य रोग नियन्त्रणका लागि सरकारको ‘प्रतिकार्य अभियान’ तयारी



काठमाडौँ, असार २९। सरकारले मनसुनका बेला फैलिने विभिन्न सरुवा तथा पानीजन्य रोगको रोकथाम र नियन्त्रणका लागि विशेष ‘प्रतिकार्य अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनसँगै डेङ्गी, औलो, हैजा, झाडापखाला, जापानी इन्सेफ्लाइटिस, स्क्रब टाइफस र इन्फ्लुएन्जाजस्ता रोगको जोखिम बढ्ने भएकाले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा अभियान सञ्चालन गर्न लागिएको जनाएको छ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार जोखिम मूल्याङ्कनका आधारमा तीनै तहका सरकारले संयुक्त रूपमा प्रतिकार्य गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको छ। उहाँले मनसुनजन्य रोग नियन्त्रणमा अघिल्ला वर्षको तुलनामा सुधार भएको उल्लेख गर्दै क्षति न्यूनीकरणका लागि सचेतना र रोकथामका कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई रोगबाट बच्ने उपायबारे जानकारी दिने अभियान सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार जनचेतना बढ्दै जाँदा रोगको प्रकोप पनि क्रमशः घट्दै गएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख जनरल कन्सल्टेण्ट फिजिसियन डा. विमल शर्मा चालिसेले रोग फैलिसकेपछि उपचार गर्नुभन्दा स्रोत र जोखिमका कारणमै नियन्त्रण गर्नु बढी प्रभावकारी र कम खर्चिलो हुने बताउनुभयो।उहाँले विशेषगरी डेङ्गी, हैजा र झाडापखालाजस्ता रोग मनसुनमा बढी देखिने भएकाले व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी र वातावरण स्वच्छ राख्न आग्रह गर्नुभयो।

यस्तै, कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले असारदेखि असोजसम्म पानीजन्य तथा कीटजन्य रोगको जोखिम उच्च रहने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने बताउनुभयो।उहाँका अनुसार मनसुन सुरु भएसँगै डेङ्गी सङ्क्रमण पनि बढ्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्