सुकुमवासी समस्याको दीर्घकालीन समाधानमा सरकार गम्भीर : गृहमन्त्री गुरुङ
काठमाडौँ, असार २९ गते। गृहमन्त्री सुधन गुरुङले सुकुमवासी तथा भूमिहीन नागरिकको समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ।
भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसोबास गर्दै आएका सुकुमवासी परिवारसँग छलफल गर्दै गृहमन्त्री गुरुङले सरकार उनीहरूको समस्या समाधानमा केन्द्रित रहेको बताउनुभयो।
“तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो। यसलाई सरकारले गहन रूपमा बुझेको छ,” उहाँले भन्नुभयो, “समस्या समाधानका लागि यहाँहरूले पनि सरकारलाई सहयोग गर्नुपर्छ।”
गृहमन्त्री गुरुङले सुकुमवासी तथा भूमिहीन नागरिकको समस्या मानव जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको समाधानमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले सरकारको समाधान प्रयासमा अनावश्यक राजनीतिक हस्तक्षेप नगर्न पनि आग्रह गर्नुभयो।
उहाँका अनुसार सुकुमवासी तथा भूमिहीन नागरिकको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने दिशामा सरकारले आवश्यक पहल अघि बढाइरहेको छ।

