पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु
सिरहा, असार २९ गते। सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वा क्षेत्रको पशु हाटबजार परिसरमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन्।
प्रहरीका अनुसार आइतबार दिउँसो करिब २:३० बजे घरबाट खेल्न निस्किएका तीनै जना बालबालिका पशु हाटबजार परिसरभित्र रहेको पानी जमेको खाल्डोमा पुगेका थिए। नुहाउने क्रममा उनीहरू डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा तीनै जनालाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।
मृतकका पिता अवास शेखको स्थायी घर रौतहटको जिगरवा भए पनि उनी करिब ३० वर्षदेखि गोलबजार–७ मा परिवारसहित बसोबास गर्दै आएका थिए। कवाडी सामग्री संकलन गरेर जीविकोपार्जन गर्दै आएका उनको पाँच सन्तानमध्ये तीन जनाको एकै घटनामा मृत्यु भएपछि परिवार शोकमा डुबेको छ।
स्थानीयका अनुसार उक्त खाल्डो पशुहरूलाई पानी खुवाउने उद्देश्यले बनाइएको थियो। वर्षाको पानी जमेर गहिरो बनेपछि त्यसले दुर्घटनाको रूप लिएको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

