आज भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
काठमाडौं, असार २९ — जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ भने मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले अधिकांश स्थानमा बदलीसँगै वर्षा भइरहेको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो र राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा व्यापक बदली रहने तथा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा पहाडी क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।विभागले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

