सुकुमवासीलाई छिट्टै लालपुर्जा दिने सरकारको तयारी



भक्तपुर, असार २९ — सरकारले वास्तविक सुकुमवासीको पहिचान, जग्गा व्यवस्थापन र कानुनी प्रक्रिया पूरा गरी छिट्टै लालपुर्जा वितरण गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ।

भक्तपुरको खरीपाटीस्थित सुकुमवासी होल्डिङ सेन्टरको निरीक्षणपछि भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले हतारमा होइन, दीर्घकालसम्म विवादरहित हुने गरी स्थायी समाधानसहित लालपुर्जा वितरण गरिने बताउनुभयो। उहाँका अनुसार बर्दियाबाट लालपुर्जा वितरण प्रक्रिया सुरु भइसकेको छ र केही हप्ताभित्र अन्य जिल्लामा पनि विस्तार गरिनेछ।

होल्डिङ सेन्टरको निरीक्षणमा गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्री सहभागी भएका थिए। गृहमन्त्री गुरुङले सुकुमवासी परिवारका बालबालिकाको शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकताको जिम्मेवारी सरकारले लिने तथा दीर्घकालीन समाधानका लागि काम भइरहेको बताउनुभयो।

सरकारले सुकुमवासी समस्याको स्थायी समाधानका लागि सुरक्षित बसोबास, जग्गाको स्वामित्व र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्