अमेरिकाको मध्य क्षेत्रमा कीर्तिमानी गर्मी, डढेलो नियन्त्रणमा चुनौती



एजेन्सी,असार २९ । संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र कीर्तिमानी अत्यधिक गर्मीको लहरको चपेटामा परेको छ। अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार उत्तरी समथर भूभागदेखि रकी पर्वतीय क्षेत्रसम्म तापक्रमले विगतका सबै कीर्तिमान तोडेको छ।

प्रारम्भिक तथ्याङ्कअनुसार युटा राज्यको राजधानी साल्ट लेक सिटी र मोन्टाना राज्यको सबैभन्दा ठूलो सहर बिलिङ्समा तापक्रम १०९ डिग्री फरेनहाइट (४३ डिग्री सेल्सियस) पुगेको छ। दुवै सहरमा १५० वर्षभन्दा बढी समयदेखि राखिएको अभिलेखमा यो

अहिलेसम्मकै उच्च तापक्रम भएको मौसम सेवाले जनाएको छ।यसअघि साल्ट लेक सिटीमा १०७ डिग्री फरेनहाइट र बिलिङ्समा १०८ डिग्री फरेनहाइटको उच्च तापक्रमको कीर्तिमान रहेको थियो।

उच्च तापक्रमका कारण कोलोराडो र युटाका विभिन्न क्षेत्रमा फैलिएका डढेलो नियन्त्रणमा कठिनाइ उत्पन्न भएको छ।मौसमविद्हरूले अत्यधिक गर्मीको लहर मङ्गलबारसम्म कायम रहने अनुमान गरेका छन्।

एक साताअघि पूर्वी अमेरिकामा पनि अर्को गर्मीको लहर चलेको थियो। त्यस क्रममा न्युयोर्क र फिलाडेल्फियामा तापक्रम करिब १०४ डिग्री फरेनहाइट पुगेको थियो।

वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण विश्वभर अत्यधिक गर्मीका लहरहरू अझ बारम्बार, लामो समयसम्म रहने र तीव्र बन्दै गएको बताएका छन्। जीवाश्म इन्धनको दहनबाट हुने हरितगृह ग्यास उत्सर्जनलाई यसको प्रमुख कारण मानिएको छ।

यता, पश्चिमी युरोपले पनि हालसम्मकै सबैभन्दा तातो जुन महिनाको अनुभव गरेको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार त्यहाँको हालैको गर्मीको लहरका कारण एक हजार तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्