विद्यालय निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबविल छर्किने वडा सदस्य पक्राउ
दाङ, असार २९ — दाङको घोराही उपमहानगरपालिका–१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतमाथि मोबविल छर्किएको आरोपमा वडा सदस्य पक्राउ परेका छन्।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का ४२ वर्षीय वडा सदस्य उत्तम बुढाथोकी रहेका छन्। प्रहरीका अनुसार असार २७ गते बिहान निर्वाचनका मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका ४८ वर्षीय शिक्षा अधिकृत अजय बोहोराले चलाएको रा.१ ब १०४२ नम्बरको मोटरसाइकल रोकी बुढाथोकीले उनको शरीरमा मोबविल छर्किएका थिए।
घटनापछि उनी फरार भएका थिए। उक्त घटनामा अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा असार २८ गते मुद्दा दर्ता गरिएको थियो। त्यसपछि दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि असार २९ गते घोराही उपमहानगरपालिका–१५ बाट लुकिछिपी बसेको अवस्थामा बुढाथोकीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

