बहुमूल्य वस्तु भन्दै सेतो ढुङ्गा जस्तो पदार्थ देखाएर ठगी गर्ने पोखराबाट ६ जना पक्राउ
कास्की, असार २९ — बहुमूल्य वस्तु भएको भन्दै सेतो टल्किने ढुङ्गाजस्तो पदार्थ देखाएर सर्वसाधारणलाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।पोखरा महानगरपालिका–२६ कालीकाचोकमा भाडामा बस्दै आएका उनीहरूको डेरा तथा शरीर खानतलासी गर्दा सेतो टल्किने क्रिस्टलजस्तो लाम्चो वस्तु एक थान, काठको फोल्डिङ बट्टा एक थान, करिब ६ फिट ५ इन्च लम्बाइको केबलसहितको चार्जर एक थान तथा ६ थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका–५ का ३५ वर्षीय राजन विक, सोही स्थानकी २७ वर्षीया रोशनी विक र ६९ वर्षीया खगिसरा कामी (बाटुली), म्याग्दीको मालिका गाउँपालिका–४ घर भई हाल पोखरा–२६ बस्ने ५१ वर्षीय दिलबहादुर बुढा मगर, म्याग्दीको रघुगंगा गाउँपालिका–५ घर भई हाल पोखरा–२७ बस्ने २९ वर्षीय दीपक गोतामे तथा कास्कीको पोखरा–२१ घर भई हाल पोखरा–५ मालेपाटन बस्ने ४५ वर्षीय प्रेमचन्द्र विश्वकर्मा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले सेतो ढुङ्गाजस्तो टल्किने पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

