सञ्चारगृहको गेटमा शंकास्पद गाडी पार्किङप्रति पत्रकार महासंघको आपत्ति



काठमाडौं, असार २९ — विभिन्न सञ्चारमाध्यमका कार्यालयको प्रवेशद्वारमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारहरूको आवतजावतमा अवरोध तथा त्रास सिर्जना गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका अनुसार आइतबार बिहानदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमै गाडी पार्किङ गरिएका कारण पत्रकार तथा कर्मचारीलाई कार्यालय प्रवेश–निर्गमनमा समस्या भएको थियो।

महासंघले विज्ञप्ति जारी गर्दै सञ्चारगृहको प्रवेशद्वारमा राखिएका गाडी तत्काल हटाई सञ्चारकर्मी र सञ्चार संस्थाको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

साथै, सञ्चारमाध्यम र पत्रकारले स्वतन्त्र रूपमा पेशागत दायित्व निर्वाह गर्ने अधिकारमा अवरोध पुर्‍याउने यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकार र सुरक्षा निकायसँग महासंघले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्