बागमतीमा यस वर्षकै ठूलो बाढी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह



सर्लाही, असार २९ — सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा सोमबार यस वर्षकै सबैभन्दा ठूलो बाढी आएको छ। नुनथरस्थित पधेरादोभान जलमापन केन्द्रमा मध्यान्ह १२ बजे गरिएको मापनअनुसार नदीको जलसतह ३.९० मिटर पुगेको थियो, जुन यस वर्षकै उच्च मापन हो।

जल तथा मौसम विज्ञान विभागका जलमापन सहायक राजु पाटा मगरका अनुसार अपराह्न ४ बजेसम्म जलसतह घटेर ३.३० मिटरमा झरेको छ। दिउँसोदेखि वर्षा रोकिएपछि नदीको बहाव क्रमशः घट्न थालेको हो।

हालसम्म नदीको जलसतहले खतराको तह पार नगरे पनि काठमाडौंसहित पहाडी क्षेत्रमा पुनः वर्षा भइरहेकाले बाढी फेरि बढ्न सक्ने सम्भावना रहेको छ। त्यसैले महेन्द्र राजमार्गदेखि दक्षिणका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

सर्लाहीमा सोमबार दिउँसोदेखि वर्षा रोकिए पनि मौसम अझै बदली रहेको र पुनः वर्षा हुन सक्ने सम्भावना छ। वर्षासँगै केही शीतलता आएपछि स्थानीयले अत्यधिक गर्मीबाट भने तत्काल राहत महसुस गरेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार सोमबार साँझसम्म जिल्लामा कतै पनि डुबान वा कटानको समस्या देखिएको छैन। तर मौसम प्रतिकूल रहेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई ‘अलर्ट’ अवस्थामा राखिएको छ। विपद् व्यवस्थापन समिति आवश्यक स्रोत, साधन र जनशक्तिसहित कुनै पनि बेला परिचालन हुन तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो।

बागमती, लखन्देही र मनुष्मारा खोलामा बाढी आएपछि बरहथवा, बसबरिया, धनकौल, रामनगर, बलरा, गोडैता, विष्णु र कौडेना लगायत दक्षिणी भेगका पालिकाहरूमा हरेक वर्ष डुबान र कटानको समस्या दोहोरिने गरेको छ। मनसुन सक्रिय भएसँगै यस वर्ष पनि तटीय क्षेत्रका स्थानीयमा बाढीको चिन्ता बढ्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्