काठमाडौं उपत्यकाका नदीमा बाढी बढ्दै, रातिभर उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौं,असार २९: जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकाका प्रमुख नदी तथा खोलामा बाढीको सतह बढिरहेको भन्दै नदी आसपासका बासिन्दा तथा यात्रुहरूलाई आज रातिभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार बागमती, विष्णुमती, धोबिखोला, हनुमन्ते र मनोहारा लगायतका नदी तथा खोलामा पानीको बहाव बढिरहेको छ। आज राति पनि थप वर्षा हुने पूर्वानुमान रहेकाले नदी किनार तथा डुबान भइरहने क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

विभागले नदी करिडोर भएर यात्रा गर्ने तथा नदी आसपासका क्षेत्रमा आवतजावत गर्नेहरूलाई मंगलबार बिहानसम्म सतर्क रहन आग्रह गरेको छ। लगातारको वर्षासँगै नदीमा पानीको बहाव थप बढ्न सक्ने भएकाले अनावश्यक रूपमा नदी किनारमा नजान तथा सुरक्षित स्थानमा बस्न पनि विभागले सुझाव दिएको छ।

मनसुन सक्रिय रहेकाले स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचना पालना गर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन विभागले सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्