दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे, प्रेस काउन्सिलमा उमेश श्रेष्ठ नियुक्त



काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार उहाँहरूलाई नियुक्त गरिएको हो।

नवनियुक्त अध्यक्षद्वयले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गर्नुभएको छ। दूरसञ्चार प्राधिकरणका अध्यक्ष घिमिरेले आजै पद तथा गोपनीयताको शपथसमेत लिनुभएको छ।

नियुक्तिपत्र हस्तान्तरण गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएका दुवै अध्यक्षप्रति उच्च अपेक्षा रहेको बताउनुभयो। नियामक निकायहरूले निष्पक्ष, परिणाममुखी र जिम्मेवार ढङ्गले काम गर्दै नागरिकको हितलाई केन्द्रमा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।

उहाँले सञ्चार क्षेत्रमा गलत सूचना र दुष्प्रचार प्रमुख चुनौतीका रूपमा देखिएकाले त्यसको प्रभावकारी नियन्त्रण तथा जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा प्रेस काउन्सिलले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो। साथै, मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल अघि बढिसकेको जानकारी दिँदै पुराना कानुनलाई समयानुकूल परिमार्जन गरिने उल्लेख गर्नुभयो।

दूरसञ्चार क्षेत्रका समस्या समाधान, सेवा गुणस्तर सुधार र सुशासन प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताउँदै मन्त्री तिमिल्सिनाले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्न दुवै संस्थालाई सुझाव दिनुभयो। मन्त्रालयले आवश्यक नीतिगत तथा संस्थागत सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सञ्चार माध्यमको स्वरूप परिवर्तन भइसके पनि सम्बन्धित कानुन पुरानो भएकाले त्यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, स्वनियमनको सुदृढीकरण तथा प्रेस स्वतन्त्रताको संरक्षण आफ्नो प्राथमिकता रहने उहाँले बताउनुभयो।

यस्तै, दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले कानुन, नीति र नियमको परिधिभित्र रही दूरसञ्चार क्षेत्रको विकास, सेवा विस्तार, सुशासन र नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यमान समस्या समाधान गर्दै प्रभावकारी र उत्तरदायी दूरसञ्चार प्रणाली निर्माणका लागि आवश्यक निर्णय लिन दृढतापूर्वक अघि बढ्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्