भानु जयन्तीको अवसरमा नुवाकोटमा अन्तरविद्यालय कविता प्रतियोगिता, सदिक्षा भट्टराई प्रथम
नुवाकोट, असार २९ — निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले २१३औँ भानु जयन्तीको अवसरमा अन्तरविद्यालय कविता प्रतियोगिता आयोजना गरेको छ।
प्रतियोगितामा नुवाकोट ग्लोरी बोर्डिङ स्कुल, सूर्यगढी–५ की छात्रा सदिक्षा भट्टराई प्रथम, सेई बोर्डिङ स्कुल, लिखु–६ की राशिका जिसी द्वितीय, पायोनियर बोर्डिङ स्कुल, विदुर–७ तुप्चेकी निष्मा रिजाल तृतीय तथा सुभेनियर बोर्डिङ स्कुल, बट्टारकी सुलक्षणा कँडेल सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।
नेशनल बेथेल एकेडेमी, विदुर–९ प्लासटारमा आयोजित कार्यक्रम प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बालसाहित्य सर्जक अनुराधा शर्मा, साहित्य सङ्गम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमी, प्याब्सनका पदाधिकारी तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष अधिकारीले नेपाली साहित्यको संरक्षण र प्रवर्द्धनसँगै विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्न आगामी दिनमा प्याब्सन नुवाकोट र नुवाकोट साहित्य सङ्गमबीच सहकार्यलाई थप सुदृढ बनाइने बताउनुभयो।

