जीवनसँगको लडाइँमा नुवाकोटका शिक्षक दलबीर, परिवारद्वारा सहयोगको अपिल
• भरतसन्तोषी लामा
नुवाकोट,असार ३० । केही साताअघि सम्म नुवाकोटको लिखु गाउँपालिका–३ स्थित श्री निरन्जना आधारभूत विद्यालयमा विद्यार्थीलाई पढाउँदै भविष्य निर्माणमा जुटेका शिक्षक दलबीर शार्की आज भारतको अस्पतालमा जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन्। करिब दुई सातादेखि कोमामा रहेका उनको उपचारका लागि ठूलो रकम आवश्यक परेपछि परिवार, आफन्त, सहकर्मी, शुभेच्छुक र स्थानीयवासीले आर्थिक सहयोगका लागि सबैसँग अपिल गरेका छन्।
कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८, मयकोटका स्थायी बासिन्दा शार्की २०७९ सालमा शिक्षक सेवा आयोगको परीक्षाबाट उत्तीर्ण भई नुवाकोटमा स्थायी शिक्षकका रूपमा नियुक्त भएका थिए। उनले लिखु गाउँपालिका–३ स्थित श्री निरन्जना आधारभूत विद्यालयमा इमान्दारी र समर्पणका साथ अध्यापन गर्दै आएका थिए। विद्यार्थीमाझ सरल, मेहनती र लोकप्रिय शिक्षकका रूपमा परिचित शार्कीले विद्यालय र समुदायमा राम्रो छवि बनाएका थिए।
उनी स्नातक चौथो सेमेस्टरको परीक्षा दिन आफ्नै गृहजिल्ला कालिकोट पुगेका बेला एक्कासि बेहोस भएका थिए। त्यसपछि उनको उपचार प्रदेश अस्पताल सुर्खेतमा सुरु गरिएको थियो। करिब १० दिनसम्म उपचार गर्दा पनि स्वास्थ्यमा उल्लेखनीय सुधार नआएपछि चिकित्सकको सल्लाहअनुसार नेपालगन्ज लगियो। नेपालगन्जका चिकित्सकले थप विशेषज्ञ उपचार आवश्यक रहेको भन्दै भारतको लखनउस्थित क्रिस्टिन अस्पतालमा रिफर गरेका थिए।
हाल सोही अस्पतालमा उनको सघन उपचार भइरहेको छ।अस्पतालको प्रारम्भिक रिपोर्टअनुसार उनलाई ट्युबरकुलर मेनेन्जाइटिस भएको पुष्टि भएको छ। यो रोगका कारण उनको मस्तिष्कमा गम्भीर असर परेको चिकित्सकहरूले बताएका छन्। थप परीक्षणका प्रतिवेदन आउने क्रम जारी रहे पनि चिकित्सकहरूले उपचार लामो समयसम्म चल्न सक्ने र निरन्तर निगरानी आवश्यक पर्ने बताएका छन्।
उनका भतिज राजन शार्कीका अनुसार उपचारमा दैनिक ठूलो खर्च भइरहेको छ। नेपालदेखि भारतसम्मको उपचार यात्रा, औषधि, सघन उपचार कक्ष र अन्य चिकित्सकीय खर्चका कारण परिवार आर्थिक रूपमा अत्यन्तै कठिन अवस्थामा पुगेको छ। केही सहयोगी मनहरूले सहयोग गरे पनि उपचार निरन्तर सञ्चालन गर्न अझै ठूलो रकम आवश्यक रहेको उनले बताए।
परिवारले उपचार खर्च अभावका कारण कुनै पनि उपचार रोक्न नपरोस् भन्ने चाहना राख्दै सहयोग गर्न सक्ने सबै व्यक्ति, संघसंस्था, शुभेच्छुक र नेपाली समुदायसँग मानवीय संवेदनाका आधारमा आर्थिक सहयोग गर्न आग्रह गरेको छ।
विद्यालयका सहकर्मी, स्थानीयवासी तथा आफन्तहरूका अनुसार अरूको भविष्य उज्यालो बनाउन निरन्तर खटिएका शिक्षक शार्की अहिले आफैं जीवन बचाउने कठिन संघर्षमा छन्। उनको स्वास्थ्यमा सुधार आउन सबैले प्रार्थना गरिरहेका छन् भने उपचारमा आर्थिक अभाव बाधक नबनोस् भन्ने उद्देश्यले सहयोगको अभियान पनि तीव्र बनाइएको छ। यसैबीच विद्यालयका प्रधानाध्यापक सिताराम थपलियाले जिल्ला तहका सबै शिक्षक कर्मचारीले सहयोग गरिदिन अनुरोध गरेका छन् ।
मानवताभन्दा ठूलो धर्म केही नहुने भन्दै परिवारले सानो–सानो सहयोगले पनि एउटा शिक्षकको जीवन बचाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। अहिले दलबीर शार्कीको उपचार मात्र होइन, एउटा परिवारको आशा, विद्यार्थीहरूको प्रिय गुरु र समाजको एक जिम्मेवार शिक्षकलाई बचाउने अभियानमा सबैको साथ र सहयोग आवश्यक देखिएको छ।

