प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप अस्वीकार्य : रास्वपा



काठमाडौं,असार ३० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार माध्यम र सञ्चारकर्मीको स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने जनाएको छ।

महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सञ्चारगृह वरपर देखिएका शङ्कास्पद गतिविधि तथा सञ्चार माध्यममा त्रास सिर्जना गर्ने प्रयासले प्रेस स्वतन्त्रताको मर्ममाथि प्रश्न उठाएको उल्लेख गरिएको छ।

रास्वपाले सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाब दिने, समाचार प्रकाशन–प्रसारणमा प्रभाव पार्ने तथा सञ्चारगृहमा असुरक्षाको वातावरण बनाउने गतिविधि लोकतान्त्रिक मूल्यमान्यताविपरीत भएको जनाएको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न सरकार, गृह मन्त्रालय र सुरक्षा निकायसँग माग गरेको छ।

पार्टीले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएकाले सञ्चारकर्मीले निर्भीक रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्