देशभर मनसुनी प्रभाव कायम, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौंअसार ३० । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न प्रदेशमा वर्षा जारी रहेको छ। जल तथा मौसम विज्ञान विभागले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई नजिक रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। साथै पहाडी र तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा यी प्रदेशका तराईका केही स्थानसँगै लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना छ।आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले भारी वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयलगायत प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले विभागबाट जारी हुने पछिल्ला मौसम सूचनालाई नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।

