सातै प्रदेशमा जलन उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं,असार ३० । प्रधानमन्त्री वालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न सातै प्रदेशमा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा उहाँले प्रमुख सरकारी अस्पतालको जलन उपचार सेवा सुदृढ बनाउन, गम्भीर बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था मिलाउन तथा सङ्घ, प्रदेश र स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय गर्न आग्रह गर्नुभयो।
प्रधानमन्त्री शाहले अस्पतालको सरसफाइ, सेवा प्रवाह सुधार र अनावश्यक भिड व्यवस्थापनमा पनि विशेष ध्यान दिन निर्देशन दिनुभएको छ। छलफलमा वीर अस्पतालको आर्थिक तथा व्यवस्थापकीय समस्याबारे समेत जानकारी गराइएको थियो।

