विद्युत कार्यालयको भ्यान दुर्घटना : दुईको मृत्यु, एक घाइते
सुनसरी, असार ३० — सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक कोशी लोकमार्गमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
गएराति बा १ ञ १६५१ नम्बरको भ्यान आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका–१३ निवासी ३२ वर्षीय बिर्खबहादुर राई र धरान उपमहानगरपालिका–१६ निवासी ४९ वर्षीय सुमन आचार्य गम्भीर घाइते भएका थिए। दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका भ्यानमा सवार धरान उपमहानगरपालिका–२० निवासी ३२ वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार कोशी लोकमार्गमा भ्यान आफैं अनियन्त्रित भई दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

