आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारकै क्रममा निधन
काठमाडौं,असार ३० । सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको काठमाडौंमा उपचारका क्रममा निधन भएको छ।
शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका मण्डललाई हेलिकप्टरमार्फत काठमाडौं ल्याई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। अस्पतालका मेडिकल डाइरेक्टर किरण नकर्मीका अनुसार उनको आज बिहान २:०५ बजे निधन भएको हो।
मण्डललाई शुक्रबार साँझ करिब ७:३० बजे अस्पताल पुर्याएर सघन उपचार कक्ष (आईसीयू) मा राखी उपचार गरिएको थियो। उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।
प्रहरीका अनुसार मण्डलले घरबाट करिब २०० मिटर टाढा गएर आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए। घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।
पछिल्ला केही दिनयता यस्ता प्रकृतिका घटनाहरू लगातार सार्वजनिक भएका छन्। बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा मुगुका एक युवकले पनि आफ्नै शरीरमा आगो लगाएका थिए, जसको उपचारका क्रममा निधन भएको थियो। त्यसपछि शनिबार काठमाडौंको बुद्धनगरमा पनि यस्तै प्रकृतिको अर्को घटना भएको प्रहरीले जनाएको छ।

