उपत्यकाका मुख्य नाकाबाट सवारी आवागमन पुनः सञ्चालन, गन्तव्यतर्फ सवारी पठाउन थालियो
काठमाडौं,असार ३० । काठमाडौं उपत्यकाका मुख्य नाकाबाट सवारी साधनको आवागमन पुनः सञ्चालनमा आएको छ। लगातारको वर्षाका कारण यात्रामा जोखिम बढेपछि हिजोदेखि रोकिएका सवारी साधनलाई आज बिहानदेखि गन्तव्यतर्फ पठाउन थालिएको हो।
नागढुंगा, साँगा, माछापोखरीलगायत उपत्यकाका प्रमुख नाकामा अहिले सवारी साधनको चाप देखिएको छ। ट्राफिक प्रहरीको निगरानीमा सवारीलाई व्यवस्थित रूपमा गन्तव्यतर्फ पठाउने काम भइरहेको छ।
ट्राफिक प्रहरीका अनुसार ललितपुरको भट्टेडाँडाबाहेक अन्य सबै मुख्य सडकमा सवारी आवागमन सञ्चालनमा आएको छ ।सम्भावित जोखिमलाई ध्यानमा राख्दै विभिन्न स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ।
यस्तै, अवरुद्ध रहेको मुग्लिङ–नारायणगढ सडकखण्ड पनि आज बिहान ७ बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ। यात्रुहरूलाई मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न पनि आग्रह गरिएको छ।

