प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई उडान तीन महिनाका लागि बन्द



मुस्ताङ,असार ३० । प्रतिकूल मौसम र निरन्तर वर्षाका कारण पोखरा–जोमसोम हवाई सेवा करिब तीन महिनाका लागि स्थगित गरिएको छ। कम दृश्यता (भिजिबिलिटी) का कारण जेठको तेस्रो सातादेखि भदौको पहिलो सातासम्म नियमित यात्रुवाहक उडान बन्द गरिएको हो।

जोमसोम विमानस्थलका प्रमुख दीपक पोख्रेलका अनुसार नियमित सेवा सञ्चालन गर्दै आएका तारा एयरलाइन्स र समिट एयरलाइन्सले वर्षायामभर उडान रोकेका छन्। उहाँका अनुसार बर्खा र जाडोयाममा मौसम प्रतिकूल हुने भएकाले नियमित उडान प्रभावित हुने भए पनि आवश्यकताअनुसार आपत्कालीन तथा चार्टर उडान भने सञ्चालन गर्न सकिनेछ।

विमानस्थल प्रशासनका अनुसार निजी वायुसेवा कम्पनीहरूले भदौको पहिलो सातादेखि पुनः नियमित उडान सञ्चालन गर्ने तयारी गरेका छन्। वर्षायाममा खराब मौसमसँगै पर्यटकको सङ्ख्या पनि उल्लेख्य रूपमा घट्ने भएकाले हवाई सेवा प्रभावित हुने गरेको हो।

पोखरा–जोमसोम रुटमा ट्विनअटर जहाज सञ्चालन हुँदै आएको छ। यस मार्गमा हावाहुरी र मौसमका कारण दैनिक दिउँसो ११ बजेसम्म मात्र उडान सञ्चालन हुने व्यवस्था छ।

नियमित हवाई सेवा बन्द भए पनि मुक्तिनाथ मन्दिर र दामोदरकुण्ड जाने धार्मिक पर्यटकका लागि आवश्यकताअनुसार हेलिकोप्टर सेवा सञ्चालन हुनेछ। ती उडानमा एक जना सुरक्षा निकायका प्रतिनिधिको अनिवार्य सहभागिता रहने व्यवस्था गरिएको छ।

मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनका अनुसार सडक सञ्जाल विस्तार र सहज हुँदै जाँदा पछिल्लो समय पोखरा–जोमसोम हवाई मार्ग प्रयोग गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या घट्दै गएको छ। निजी वायुसेवाबाहेक नेपाली सेनाले पनि आवश्यक सामान ढुवानी तथा चार्टर उडान सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्