संसदमा आत्मदाहदेखि बाढी–पहिरोसम्मका विषय उठे, प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रतिपक्षको विरोध कायम
काठमाडौं,असार ३० । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आत्मदाहका घटना, बाढी–पहिरो, दुर्घटना, विद्युत् आपूर्ति, कर्मचारी प्रशासन तथा काठमाडौंमा पछिल्ला दिनमा देखिएका विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकमा सांसदहरूले गणेश नेपालीसहित तीन जनाको आत्मदाहको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता दुःखद घटनाको कारण पहिचान गरी समयमै समाधान गर्न सरकारसँग माग गरेका छन्। साथै, उक्त घटनापछि राजधानीका विभिन्न स्थानमा आमसञ्चार माध्यम, राजनीतिक दलका नेताका घर तथा न्युरोड क्षेत्रमा सवारी साधन तेर्स्याइएका घटनाको निष्पक्ष छानबिन गर्न पनि आग्रह गरेका छन्।
अविरल वर्षापछि देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढ्दै गएको उल्लेख गर्दै सांसदहरूले नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी पूर्वतयारी, उद्धार र राहत व्यवस्थालाई सुदृढ बनाउन सरकारसँग माग गरेका छन्।
बैठकमा निजामती सेवाबाट कर्मचारीले राजीनामा दिने क्रम बढिरहेको विषय पनि उठाइएको छ। सांसदहरूले प्रस्तावित निजामती विधेयक, राजनीतिक हस्तक्षेप तथा कार्यसम्पादनको प्रतिकूल वातावरणका कारण समस्या सिर्जना भएको उल्लेख गर्दै अनुभवी कर्मचारीलाई समेटेर कर्मचारी प्रशासनको आधुनिकीकरण गर्नुपर्ने धारणा राखेका छन्।
सुनसरीका विभिन्न क्षेत्रमा लामो समयसम्म विद्युत् आपूर्ति अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती भोगिरहेको भन्दै तत्काल समस्या समाधान गरी उपभोक्ताको अधिकार सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
त्यसैगरी, कीर्तिपुरस्थित विस्थापित सुकुम्बासीका लागि निर्माण गरिएको होल्डिङ सेन्टर बाढीले डुबानमा परेको तथा उद्धारमा खटिएका व्यक्तिमाथि दुर्व्यवहार भएको विषयमा समेत सांसदहरूले सरकारसँग जवाफदेहिता माग गरेका छन्।
यसैबीच, प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता नलिएको भन्दै विरोधलाई निरन्तरता दिएका छन्। प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै उक्त अभिव्यक्ति फिर्ता लिएर संसद्को अभिलेखबाट हटाउन सरकारसँग माग गरेका छन्।

