सरकारी विज्ञापनको एकद्वार प्रणाली सर्वोच्चद्वारा खारेज
काठमाडौं ,असार ३० — सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशन तथा प्रसारणका लागि सरकारले लागू गरेको एकद्वार प्रणालीको निर्णय खारेज गरेको छ।
मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको उक्त परिपत्र बदर गर्ने आदेश दिएको हो।
वर्तमान सरकारले सरकारी विज्ञापनहरू सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था लागू गरेको थियो। उक्त निर्णयले सार्वजनिक तथा निजी सञ्चारमाध्यमको हितविपरीत भएको भन्दै नेपाल मिडिया सोसाइटी सर्वोच्च अदालत पुगेको थियो।
सर्वोच्च अदालतले परिपत्र खारेज गर्ने आदेश दिएसँगै सरकारी विज्ञापनसम्बन्धी एकद्वार प्रणाली कार्यान्वयन नहुने भएको छ।अदालतको आदेशको पूर्ण पाठ भने सार्वजनिक हुन बाँकी छ।

