मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, बिउबिजन नियमावलीदेखि खेलाडी पुरस्कारसम्मका महत्वपूर्ण निर्णय
काठमाडौं,असार ३०— सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरेको छ। बैठकले कृषि, सुरक्षा, खेलकुद, सार्वजनिक संस्थान र मिटरब्याजसम्बन्धी विषयमा महत्वपूर्ण निर्णय गरेको हो।
बैठकले बिउबिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, खोज तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बल, नेपालका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरिएको छ।
यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो तथा व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
बैठकले नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णयअनुसार विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

